Interaction program with Honorable Chief Minister of Province 2, Janakpur


प्रादेशिक स्तरमा वस्तु तथा सेवाको प्रोफाइल बनाउने सिलसिलामा प्रदेश नं.२ का माननीय मुख्यमन्त्रीसँग केन्द्रका पदाधिकारीहरुको भेटघाट सम्पन्न

पुष ५, जनकपुर

प्रदेशस्तरमा उत्पादित वस्तुहरुको पहिचान, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन तथा अन्तरप्रादेशिक व्यापार अभिवृद्धि सम्वन्धी अध्ययन गरी ती वस्तु तथा सेवाहरुक्को प्रोफाइल तयार गर्ने क्रममा केन्द्रका प्रतिनिधिहरुले प्रदेश नं. २ का माननीय मूख्यमन्त्री श्री लालबाबु राउत सँग भेट गरी अध्ययनको उद्देश्य र विधिहरुका सम्वन्धमा वहाँलाई जानकारी गराएका छन् ।

उक्त अवसरमा माननीय मुख्यमन्त्री श्री राउतले यो अध्ययन प्रदेशका लागि पनि उपयोगी सिद्ध हुने र अध्ययनलाई सफल बनाउन प्रदेशस्तरबाट सबै प्रकारका सहयोग हुने विचार व्यक्त गर्नु भयो ।  यस अवसरमा वहाँले प्रदेशका उद्यमी व्यवसायीहरुको सम्मेलन आयोजना गरी यो अध्ययनलाई सहयोग गर्ने विचार पनि व्यक्त गर्नु भयो । साथै प्रदेश नं. २ लाई व्यापार व्यवसायको केन्द्र बनाउन आफूहरु लागि परेको विचार पनि वहाँले व्यक्त गर्नु भयो ।

उक्त छलफलमा अध्ययन कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै केन्द्रका नायब कार्यकारी निर्देशक श्री सुयश खनालले प्रादेशिक स्तरमा निर्यात सम्भावना भएका, आयात प्रतिस्थापन गर्न सक्ने वस्तु तथा सेवाको प्रोफाइल तयार गर्ने तथा अन्तरप्रदेश व्यापार सँभावनाको पहिचान गर्ने अध्ययनको मुख्य उद्देश्य रहेको बारेमा माननीय मूख्यमन्त्रीज्यूलाई जानकारी गराउनु भयो । प्र्रत्येक प्रदेशहरुको प्रोफाइल तयार गरी सकेपछि प्रदेशस्तरबाट सो प्रतिवेदन अनुमोदन गराउने तथा सँघीय स्तरमा सबै प्रदेशका मूख्यमन्त्रीहरुको समुपस्थितिमा बिटुबी र जिटुजी बैठकहरुको आयोजना गरी अन्तरप्रदेश व्यापार सम्भावनाहरु पहिल्याउने उद्देश्य रहेको पनि श्री खनालले जानकारी गराउनु भयो । यसका अतिरिक्त प्रदेश अन्तर्गत निकासी सम्भावना भएका वस्तुहरुको निर्यात रणनीति तयार गरी बजार प्रवद्र्धनमा सहयोग गर्न केन्द्र तयार रहेको जानकारी गराउँदै साना तथा मझौला उद्यमीका  उत्पादनलाई बजारसँग जोड्ने माध्यमका रुपमा केन्द्र सक्रिय रहँदै आएको पनि वहाँले जानकारी गराउनु भयो । अध्ययनले प्रदेशमा व्यापार सम्वद्ध पूर्वाधार विकासमा सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नु भयो ।  साथै केन्द्रले निर्यात प्रवद्र्धनमा आफ्ना गतिविधिहरु  केन्द्रित  गर्दै आएको बताउँदै अन्तर प्रदेश र अन्तर्राष्ट्रिय व्यापारलाई जोड्ने तथा उत्पादित वस्तुहरुलाई बजारसँग कसरी जोड्ने भन्ने विषयमा केन्द्र लागि परेको पनि जानकारी गराउनु भयो ।

उक्त भेटघाट कार्यक्रममा केन्द्रका उपनिर्देशक श्री रविन्द्र दुवाडीले प्रदेशस्तरको वस्तु तथा सेवाको प्रोफाइल तयार गर्दा अपनाइने अध्ययनको विधि र प्रक्रियाका बारेमा माननीय मूख्यमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो ।